काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल शुरु गरेको छ ।
मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रश्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु गरिएको पार्टीका केन्द्रिय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि विश्वकर्माले बताए ।
नेपाली काँग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको विश्वकर्माकोे भनाई थियो ।