छुट्टै भेला बोलाउने तयारीमा भट्टराई पक्ष

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवसँग अब सँगै बस्न सक्ने अवस्था नभएको निष्कर्ष निकालेको डा बाबुराम भट्टराई पक्षले आफ्नो शक्ति देखाउन छुट्टै भेला बोलाउने तयारी गरेको छ।

भट्टराई पक्षमा देखिएका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहका अनुसार बुधबार थप केही निर्णय गर्ने तयारी छ। ‘हामीले सोमबार र मंगलबार आन्तरिक छलफल गर्छौं। त्यसपछि केही न केही निर्णय गर्छौं,’ सिंहले भने, ‘अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुने कि बहिष्कार गर्ने भन्ने विषयमा पनि आन्तरिक छलफलमा छौं। अहिलेसम्म उहाँले बोलाएको बैठकमा जानुहुन्न भन्ने धारणा धेरैजसोबाट आएको छ।’

कार्यकारिणी समितिका अध्यक्ष यादवले असार २७ र २८ गते वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। उक्त बैठक भट्टराई पक्षले बहिष्कार गर्ने सम्भावना धेरै छ। भट्टराई पक्षका नेताहरूले आइतबार आफूनिकट नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्।

उनले आफ्नो पक्षमा खुलेका महेन्द्र यादव र राजकिशोर यादवसँग छलफल गरेका थिए। स्रोतका अनुसार महेन्द्र र राजकिशोरले हतारिएर निर्णय नगर्न भट्टराईलाई सुझाव दिएका छन्। ‘अहिले नै हतारिएर निर्णय नगरौं। अझै एकरदुई दिन छलफल गरौं भन्ने सुझाव उहाँहरू (महेन्द्र र राजकिशोर) बाट आएको छ,’ कार्यकारिणी सदस्य सिंहले भने।

अघिल्लो साता भट्टराई र यादवबीच भेट भएको थियो। उक्त भेटमा भट्टराईले आपसमा गालीगलौज नगरी सौहार्दपूर्ण ढंगबाट छुट्टिन यादवसँग प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा यादवले पनि सहमति जनाएका थिए। भट्टराईको उक्त प्रस्तावलाई नेता महेन्द्र र राजकिशोरले हतारको निर्णय भनी टिप्पणी गरेका थिए। स्रोतका अनुसार महेन्द्र र राजकिशोरले केही दिन पर्खेको भए राम्रो हुने बताएका थिए।

‘उपेन्द्रले सरकारबाट पुरानो टिम फिर्ता गरी नयाँ पठाउँदासम्म भट्टराईले पर्खेको भए राम्रो हुने धारणा नेता महेन्द्र र राजकिशोरको थियो। मन्त्री हुन नपाएकाहरू उपेन्द्रको विरोधमा उभिने र यसबाट उनी कमजोर हुने विश्लेषण उहाँहरूको थियो,’ भट्टराई पक्षका अर्का एक कार्यकारिणी सदस्यले भने।

मन्त्री हुने आकांक्षाले जसपाका केही सांसद आन्तरिक गुटबन्दीमा कतै पनि खुलेका छैनन्। मन्त्री नहुनेबित्तिकै नखुलेका सांसद यादवको विपक्षमा उभिने निश्चित छ। यो कुरा कार्यकारिणी अध्यक्ष यादवले पनि बुझेका छन्। त्यसैले उनले मन्त्री फेर्न आलटाल गरिरहेका छन्। मन्त्री फेरे पनि आफ्नो पक्ष बलियो हुनेगरी अध्यक्ष यादवले निर्णय लिने एक नेताले बताए। भट्टराई पक्षले भने अध्यक्ष यादवले सकेसम्म चाँडो मन्त्री फेरबदल गरून् भन्ने चाहेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *