मोसफलमै जहाज पार्किङ हुन थालेपछि विहान काठमाडौं आएर बेलुका घर फर्कदै यात्रु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असार १३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक संघलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यका बाहिरको विमानस्थलमा पार्किङ गर्ने निर्णय गरेको थियो।

सुरुवाती चरणमा विरोध गरेका संघले अहिले प्राधिकरणको निर्देशनअनुसार नै रातको समयमा उपत्यका बाहिरका विमानस्थलमा जहाज पार्किङ गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्न थालेका छन्।

प्राधिकरणको निर्देशनअनुसार अहिले काठमाडौं बाहिरका ६ वटा क्षेत्रीय विमानस्थलमा हवाईजहाजहरूले रात्री समयमा पार्किङ गर्न थालेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाले उपत्यका बाहिरका धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर र विराटनगर विमानस्थलमा जहाजहरू रात्रि समयमा पार्किङ गरेर काठमाडौंमा पहिलो उडान सुरु गरेको बताए। ‘अहिले दैनिक २० वटा जहाज रातको समयमा काठमाडौं बाहिरको क्षेत्रीय विमानस्थलमा गएर पार्किङ गर्दै आइरहेका छन्,’ उनले भने, ‘यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही घटेको छ।’

उनले बुद्ध, यती, श्रीलगायतका विभिन्न एयरलाइन्स कम्पनीका २० वटा जहाजहरूले गत मंगलबार बिहान ६ बजेदेखि काठमाडौंका लागि पहिलो उडान सुरु गरेको जानकारी दिए। बुद्ध एयरको भैरहवामा २, जनकपुर र पोखरामा १र१, श्री एयर को विराटनगर, भैरहवा, नेपालगञ्जमा १र१ तथा यतीको नेपालगञ्ज र विराटनगरमा १र१ वटा जहाज समेत विभिन्न कम्पनीका २० वटा जहाजहरू क्षेत्रीय विमानस्थलमा बिसाएर काठमाडौंका लागि पहिलो उडान सुरु गरेको प्रवक्ता सिटौलाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *