बुटवल । विभिन्न घटनामा मुछिएर विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उनी जेठ अन्तिम साता दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि छानबिनमा तानिएकी थिइन् । उनी बिरुद्ध अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।
समितिले वली र बस्नेतसँग बयान लिइसकेको छ । वलीका पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।