काठमाडौंं । नेकपा एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा(एकीकृत समाजवादी) पछिल्लो एक महिनादेखि विशेष चर्चामा छ । चर्चामा हुनुको कारण पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ती प्रकरण । एकाएक एकीकृत समाजवादीले मन्त्री फिर्ताका लागि पार्टीबाट निर्णय गराएर प्रधानमन्त्रीलाई पार्टीको निर्णयबारे जानकारी गरायो । तर पार्टी अध्यक्ष माधव नेपालको आग्रह करिव एक महिनापछि मात्र कार्यान्वयन भयो । अर्थात् प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय एक महिनापछि आइतबार मन्त्रिपरिषद पुनर्गठन गरी कार्यान्वयन गरेका छन् । यसअघि सरकारमा सहभागी चार मन्त्री हटेका छन् भने नयाँ नेता मन्त्री बनेका छन् ।
तर मन्त्री परिवर्तनको विषयमा समाजवादीमा निरंकुशता र निरीहता प्रदर्शन भएको छ । बजेटमाथि मन्त्रालयगत छलफल पछि राजीनामा दिन्छौं भन्दा पटक पटक निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्षले प्रधानमन्त्री देउवा र प्रचण्डसँग आग्रह गरेर म निरिह भएँ भनेको निवर्तमान मन्त्री रामकुमारी झाँक्री बताउँछिन् । निर्णय कार्यान्वयन नहुँदा नैतिक रुपमा पार्टी अध्यक्ष छाड्न बाध्य हुने स्थिति आयो भनेर अध्यक्षले भनेको उनको भनाई छ ।
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना भनाई राख्न नदिएको र निरंकुशता लादिएको भन्दै पार्टी विभाजन गरेका माधव नेपालले अहिले आफैं पार्टीमा निरंकुशता लादेका छन् । यतिसम्मकी भर्खरै मन्त्रीबाट राजीनामा दिएका नेतालाई पार्टीको फोरममा बोल्नसमेत समय दिइएको छैन । निवर्तमान मन्त्री झाँक्रीले पार्टीको केन्द्रीय परिषद बैठकमा बोल्न समय माग्दा पनि पाँच मिनेट समय नपाएको बताएकी छन् । पार्टीको फोरममा बोल्न नपाएपछि उनीहरु अहिले विभिन्न संचारमाध्यममा गएर आफ्ना असन्तुष्टि पोख्न थालेका छन् । उनी
बोल्न मागेको थिएँ तर समय नदिएको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘त्यहाँ बोल्दाको अर्थ थियो । अघि मैले किन संसदमा बोल्न चाहन्थे, किन केन्द्रीय परिषदमा बोल्न चाहान्थेँ,त्यो पनि त केही इस्यू थियो । तर दिइएन।’
झाँक्री मन्त्रालयबाट बिदाई हुँदै गर्दा धरधरी रोएको दृष्यले पनि एकीकृत समाजवादीमा निरंकुशता लादिएको प्रष्टै देखिन्थ्यो । यसै विषयलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले सोमबार आयोजित कार्यक्रममा कटाक्ष गरेका छन् । उनले रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताए । उनले नेताहरुले समाजवादको कुरा गरेपनि व्यवहार भने त्यस अनुसार नभएको बताए । उनले पार्टीहरुले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पुर्याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए । उनले भने,‘ म एउटा प्रश्न सोध्न चाहन्छु आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौं की ? हामी के आचरण र व्यवहार गरिरहेका छौं । हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ की आउँदैन त्यो महत्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाहिँ हामी घोर प्रतिक्रियावादी,सामन्तवादी सामन्तवाद बेलाका काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनु पर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ ।’
एकीकृत समाजवादी भित्र देखिएको यो प्रवृत्तिबाट अन्य दलसमेत छक्क र असन्तुष्ट देखिएका छन् । आफ्नै पार्टीमा समाजवाद लागू गर्न नसक्ने नेतृत्वले मुलुकमा समाजवाद ल्याउँछु भनेर भाषण गर्दै हिँड्दा जनताले कसरी पत्याउने ? समाजवादीभित्र अहिले देखिएको प्रवृत्तिले यही कुरालाई इंगित गरिरहेको छ ।
