काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् ।
एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । एकीकृत समाजवादीको गत २१ जेठमा सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीबारे निर्णय गरेको थियो । पार्टी सचिवालय बैठकले गरेको निर्णय मन्त्रीहरूले कार्यान्वयन नगरी संसदीय दल बैठक माग गर्नुले पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।
पूर्ववत् सहमतिअनुसार नै उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने सचिवालयको निर्णयप्रति सरकारमा रहेका मन्त्री असन्तुष्टि व्यक्त गर्दै आएका छन् । बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन् ।
यसैगरी, सांसदहरू गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मन्त्रीहरूलाई साथ दिँदै संसदीय दल बैठक बोलाउन माग गरेका छन् । उनीहरूले सरकारमा रहेका पार्टी नेता (मन्त्री)लाई ‘अपराधीको जस्तो व्यवहार गरिएको’ भन्दै असन्तुष्टिसमेत जनाएका छन् । राजधानी दैनिकबाट

 
				 
										 
										 
										