काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी-प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टिमबाट निकालेको खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।
अल्मुताईरीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको क्रममा उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । यस्तै अल्मुताईरीले उनको विपक्षमा रहेका खेलाडीलाई समर्थन गरेको आरोपमा कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए । १० जना सिनियर खेलाडीबिना नयाँ युवा खेलाडीलाई टोलीमा राख्दै अल्मुताईरीले एसियन कप छनोट खेलाएका थिए ।
टिम बाहिर रहने खेलाडीमा उपकप्तान रोहित चन्दसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विमल घर्तिमगर, तेज तामाङ, विशाल श्रेष्ठ, सुमन लामा, विशाल राई, दिनेश राजवंशी र अन्जन विष्ट रहेका छन् ।
यस्तै बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिकाे प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
तस्बिर:- अनलाइन खबर