काठमाडौं । एसीसी वुमेन्स टि-२० च्याम्पियनसिप अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । मंगलबार दिउँसो भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भएसँगै नेपालले च्याम्पियनसिपमा पहिलो हार बेहोरेको हो ।
जीतको लागि १ सय १० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेटको क्षतिमा १ सय १२ रन बनाउँदै लक्ष्य भेट्टायो । हङकङलाई जीत दिलाउन मारिको हिलले सर्वाधिक ४५ रन बनाइन् । यस्तै नाताशा मिल्सले ३४ बलमा २८ रन बनाउँदै हङकङलाई जीत दिलाइन् ।
नेपालको लागि संगिता राईले २ ओभरमा २० रन दिएर दुई विकेट लिँदा सीता राना मगरले एक विकेट लिइन् ।
यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ३६ बलमा सर्वाधिक ३२ रन बनाइन् । यस्तै बिन्दु रावलले २३ रनको योगदान गरिन् ।
हङकङको लागि बेटि चानले दुई र मार्यम बिबिले एक विकेट लिइन् । नेपाल यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि भएको तीन खेलमा नेपाल विजयी भएको थियो ।