दोष आलेको, कारबाही अधिकारीलाई !

काठमाडौं ।  नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरबाट अश्लील गालीसहित कुटपिटमा परेका अधिकारी न्याय पाउनुको सट्टा उल्टै निलम्बनमा परेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको हो। उनी निगमका पूर्वकर्मचारी पनि थिए। अनुभव र विज्ञताका आधारमा सरकारले उनलाई गत मंसिरमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। आलेसँगको विवाद सार्वजनिक भएसँगै उनी नियुक्तिको ६ महिनामै निलम्बनमा परेका छन्।

निर्दोष भनिएका कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा पर्दा अश्लील गालीगलौजसहित कुटपिटमा उत्रिने मन्त्री आलेले भने उन्मुक्ति पाएका छन्। मन्त्री आलेकै सिफारिसमा मन्त्रिपरिषद्ले अधिकारीलाई निलम्बन गरेको हो। गत शुक्रबार पर्यटनमन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई पहिले फोन गरेर र त्यसपछि आफ्नै कार्यकक्षमा बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौजसँगै हातपात गरेको अडिओ मिडियामा सार्वजनिक भएको थियो।

आफूनिकट व्यक्तिहरूलाई कर्मचारी नियुक्त गर्न दिएको दबाबलाई पूर्ण रूपमा कार्यान्वयन नगरेपछि मन्त्री आलेले उनीमाथि त्यस्तो व्यवहार गरेको कुरा बाहिरिएको थियो। दुव्र्यवहारमा परेपछि कार्यकारी अध्यक्ष अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै शान्ति सुरक्षाको माग गरेर निवेदन दिएका थिए। घटना सार्वजनिक भएपछि मन्त्री आलेको सो हर्कतको चौतर्फी आलोचना भएको थियो।

नेपाल वायुसेवा निगमका तीनवटा कर्मचारी संगठनले मन्त्री आलेको बर्खास्तीको माग गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका थिए। ती विज्ञप्तिमा मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई अनैतिक ढंगले, नियमविपरीत ८० भन्दा बढी मासिक ज्यालादारी कर्मचारी नियुक्ति गर्न दबाब दिएको र सो दबाबविरुद्ध उभिएकाले उनीमाथि त्यस्तो व्यवहार भएको उल्लेख छ।

घटनाक्रमले मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई अनैतिक ढंगले काम गर्न अह्राउँदा नमानेपछि उल्टै हिंसाजन्य व्यवहार गरेको देखिएको छ। तर मन्त्रिपरिषद्ले उल्टै मन्त्री आलेकै सिफारिसमा पीडितलाई निलम्बन गरेको भन्दै आलोचना भइरहेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *