काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपालले दिएको आवेदन स्वीकृत भएको बताएको छ । बुधबार काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले पत्रकारहरुसँग कुरा गर्दै नेपालको अनुरोधलाई अमेरिकाले स्वीकृत गरेको बताएका हुन् ।
उनले सन् २०१५ र २०१७ मा गरी दुईपटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिए ।
अमेरिकाको तर्फबाट यस सम्बन्धमा कुनै पनि दबाब नदिएको पनि उनले बताए । उनले एसपीपीमा कुनै पनि एलायन्स नरहेको बताए । मिकलरले केही सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएको प्रस्तावित दस्तावेज गलत भएकोे दाबी गरे ।
कार्यबाहक राजदूत मिकलरले एसपीपी कहिल्यै पनि कुनै सुरक्षा वा सैन्य गठबन्धन नरहेको भन्दै विगत २५ वर्षदेखि द्विपक्षीय फाइदालाई मध्यनजर गरेर एसपीपीले काम गरिरहेको बताए ।
