यसकारण प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति शंकैशंका

काठमाडौं । अमेरिकी सहयोग परियोजना(एमसीसी) संसदबाट अनुमोदन गर्ने क्रममा नेपालमा ठूलै हलचल भयो । कैयौंको टाउको फुट्यो भने केहीदिन संसद भवन आसपासको क्षेत्र रणमैदानमा परिणत भए । एमसीसीको विरोधमा प्रदर्शन हेर्दा लाग्थ्यो नेपाली एमसीसीको विपक्षमा छन् । यसरी एमसीसीको सर्वत्र विरोध भएपछि अमेरिकाले जवर्जस्ती नेपाललाई अनुमोदनका लागि दवाव दिँदैन होला भन्ने केहीको अपेक्षा पनि थियो । अमेरिकामाथि नेपालमा आफ्नो प्रभाव बढाएर चीनलाई घेराबन्दी गर्दैछ भन्ने आरोप लाग्ने गरेको छ ।

त्यसैले होला उसले त्यतिबेला एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहित एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संयुक्तरुपमा पठाएको पत्र सार्वजनिक गर्यो भने एमसीसीका प्रतिनिधिलाई नेपाल पठायो ।

त्यतिबेला सबै दलका शीर्ष नेतालाई अमेरिकी विदेशमन्त्रीले टेलिफोन गरी एमसीसी अनुमोदनका लागि दवाव दिएको खबर पनि सार्वजनिक भएका थिए । त्यतिबेला जेजे भएपनि अन्ततः संसदबाट एमसीसी अनुमोदन भयो । विरोधमा उत्रिएका दलहरु पनि अन्तिममा आएर अनुमोदनका पक्षमा उभिए भने प्रतिपक्षी दल नेकपा एमाले मौन बस्यो ।

खासमा एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको भन्दै विरोध भएको थियो तर त्यसलाई अमेरिकाले अस्वीकार गर्दै आएको छ तर नेपालका केही नेता तथा विज्ञहरुले यो इन्डोप्यासिफिक रणनीति भित्र रहेको बताउँदै आएका छन् । संसदबाट अनुमोदन भएसँगै अब एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।एमसीसीपछि अमेरिकाबाट नेपाललाई अर्को अनुदान सहयोग प्राप्त भएको छ । यूएसएआइडीमार्फत आउने ८० अर्ब अनुदान पाँच वर्षभित्रमा नेपालको पूर्वाधार विकासमा लगाइने बताइएको छ ।

अमेरिकाबाट सहयोग प्राप्त हुँदै गर्दा त्यहाँबाट उच्च अधिकारीहरुको नेपाल भ्रमण पनि बाक्लिदै गएको छ । यो बीचमा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया काठमाडौं आइन् । नेपालमा रहँदा उनले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन्। तिब्बती शरणार्थी शिविर भ्रमण विवादित बन्यो । तर सरकार भने शरणार्थी शिविरमा उनी गएको प्रति अनभिज्ञ झैं गर्यो ।

त्यस्तै पछिल्लो पटक अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन नेपाल भ्रमण आए । उनी चार दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किका छन् । स्वदेश फर्किनुअघि फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति भएको भन्दै नेपाली सेनाको प्रशंसा गरे । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताए । उनले नेपाल बसाइका क्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रधानसेनापतिसँग भेटवार्ता गरे भने शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज, काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नुका साथै सेनाका उच्च अधिकारीहरुसँग अन्तरक्रिया पनि गरे । उनी नेपाल त्यतिकै पक्कै आएका होइनन् । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आउनु स्वभाविक हो तर उनलाई सुरक्षाकर्मीको स्कर्टिङ गरेर सरकारले किन तिब्बती शरणार्थी शिविर जान दियो ? सरकारको भूमिका शंकास्पद छ । के चीनलाई चिढ्याउन खोजेको हो ?

सरकारका यस्तै शंकास्पद व्यवहारका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण विवादमा परेको छ । प्रतिपक्षीले शंका गर्नु त स्वभाविक नै हो । तर यहाँ त सत्ता पक्षले समेत प्रधानमन्त्रीको भ्रमणप्रति आशंका व्यक्त गरेको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणबोरमा सदनलाई जानकारी दिन माग गरे । रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति आपतिसमेत जनाए । अमेरिकी जनरलले स्थलसेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आंशका उत्पन्न भएको रावलले बताए । उनले प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको बताए ।

रावलले भने,‘नेपाल भ्रमणमा आएका अमेरिकी जननरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको गु्रपमा काम गर भन्न खोजेको हो ? यसले के आंशका उत्पन्न गरेको छ भने स्टेट पाटर्नरसिप कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ । त्यसको भित्रबाट नेपाल अंग भइसक्यो हो की ? आंशका उत्पन्न हुन्छ । यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणका जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ की पर्दैन ? दुई देशकोबीचका भ्रमण भइरहने कुरा सामान्य कुरा हो । यो भ्रमण आदानप्रदान कसले गर्छ । हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ ।’ यति मात्र होइन रावलले त प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको समेत बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि दाबी गरेका छन् ।

बैठकमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता भयो भने नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ । यसबारे मस्यौदा तयार भएको खबर सार्वजनिक भएका छन् । सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ भने नेपालका तर्फबाट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई हस्ताक्षर गराउने तयारी भएको बताइएको छ । प्रधानसेनापति शर्मा असार १३ देखि १७ गतेसम्म अमेरिका भ्रमणका लागि जाँदैछन् । एमसीसीको हेडक्वार्टरलाई एमसीसी अनुमोदनका लागि पत्र पठाएको पछि सार्वजनिक भयो । अमेरिकी उपविदेशमन्त्री नेपाल आउँदा तिब्बती शरणार्थी शिविरमा जान दिइयो । त्यस्तै अहिले एसपीपी सम्झौताको कुरा आएको छ । त्यसैले यसबारे प्रधानमन्त्रीले अमेरिका भ्रमण अघि यसबारे जानकारी गराउनुपर्छ । यसअघिका दृष्टान्त हेर्दा नेपालले सम्झौताका बारेमा जानकारी नगराउने तर अमेरिकाले पर्दाफास गरेपछि थाहा हुने गरेकोले प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति सबैले आशंका गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *