सत्ता गठबन्धनमा एकीकृत समाजवादीको वितण्डा !

काठमाडौं । अध्यादेशमार्फत एमाले फुटाइएर बनाइएको पार्टी हो नेकपा एकीकृत समाजवादी । नेपालको संविधानमा केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत पुगेपछि मात्रै पार्टी विभाजन हुनसक्ने प्रावधान छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौमा अध्यादेश ल्याएर संविधानको यो प्रावधान संसोधन गरे । अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एक निकायमा २० प्रतिशत पुगेको अवस्थामा पार्टी विभाजित गर्न सकिने प्रावधान राखियो । नेकपा एमाले विभाजनका लागि यो अध्यादेश ल्याइएको थियो । एमाले पार्टी विभाजन नगरेसम्म देउवा सरकारको प्रतिनिधिसभामा बहुमत हुने अवस्था थिएन ।

यसैगरी संसदीयद लमा २० प्रतिशत पुर्याएर एमाले फुटाउनका लागि प्रायः सबैलाई मन्त्री बनाउने आश्वासन दिइएको थियो । तर एमाले फुटाएर एकीकृत समाजवादीमा सामेल प्रतिनिधिसभाका २२ जना सांसदलाई एकैचोटी मन्त्री बनाउन संभव भएन । त्यसैले ६–६ महिनाका लागि आलोपालोको सहमति गरिएको बताइन्छ । त्यही सहमति अनुसार अहिले एकीकृत समाजवादीले आफ्ना मन्त्री परिवर्तन गर्न लागेको हो । तर अहिले मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री देउवा तयार भएनन् । अब आफ्नो अडानमा देउवा कति दिन टिक्लान् ? बजेट पारित भए लगत्तै हेरफेर होलान् त मन्त्रीहरु भन्ने चासो सर्वत्र देखिएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आइतबारको बैठकले पार्टीबाट सहभागी पुराना मन्त्रीलाई फिर्ता बोलाउने र रिक्त स्थानमा नयाँलाई पठाउने निर्णय गरेको थियो । पार्टी निर्णयलगत्तै अध्यक्ष माधवकुमार नेपालले मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन, शेरबहादुर कुँवरलाई श्रम तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेका थिए ।  अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई भने बढुवा गरेर स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरिएको छ । हाल एकीकृत समाजवादीबाट यसअघि विरोध खतिवडा स्वास्थ्य, प्रेमबहादुर आले पर्यटन, रामकुमारी झाँक्री सहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री छन् ।

उनीहरू २२ असोजमा पार्टीका तर्फबाट गठबन्धन सरकारमा सहभागी भएका हुन् । मन्त्रीका लागि थुप्रै आकांक्षी देखिएपछि अध्यक्ष नेपालले बाँकी नेताहरूलाई ६ महिनापछि मन्त्रिपरिषदमा पठाउने आश्वासन दिएका थिए । मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णयले कतिपयले पार्टी भित्र यस बिषयमा लफडा भएको भन्दै अनेक लख काट्न थालेका छन् । बजेट पासपछि मन्त्री परिवर्तन हुने बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि केही दिनपछि मन्त्री परिवर्तन हुने बताउँदै आएका छन् ।

तर पर्यटन मन्त्री प्रेम आलेको भाषणा सुन्दा भने एकीकृत समाजवादी भित्र ठूलै विद्रोह हुने संकेत देखिएको छ । आले ती नेता हुन् जो केपी ओली प्रधानमन्त्री हुँदा आफूलाई सोध्दै नसोधी मन्त्री पदबाट हटाइएको भन्दै एकीकृत समाजवादीमा लागेका थिए । अहिले पनि उनीलगायतका नेताहरुले पार्टी छाड्न लागेका खबर पनि सार्वजनिक भएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आलेको अभिव्यक्ति सुन्दा एकीकृत समाजवादीमा ठूलो विद्रोहको संकेत मिल्छ । उनले भनेका छन्, ‘हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु÷चिप्ले किराहरु आलेले धरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

मन्त्री परिवर्तनको खबर सार्वजनिक भएपछि पार्टी अध्यक्ष माधव नेपाललाई भेट्नुअघि स्वास्थ्यमन्त्री विरोध खतिवडा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास र प्रधानमन्त्री निवास पुगेको खबरसमेत सार्वजनिक भएका छन् । एकीकृत समाजवादीका असन्तुष्ट चार जना मन्त्रीहरुसँग कति जना सांसद छन् ? उनीहरुले साथ छाडे भने देउवा सरकार अल्पमतमा पर्छ की पर्दैन भन्ने प्रश्नहरु कम पेचिला छैनन् ।

यस प्रकरणलाई नजिकबाट हेरिरहेका कांग्रेस नेता एवं पूर्वमन्त्री जेपी गुप्ता माधव नेपालले जन्माएको वितण्डा भन्छन् । उनले सामाजिक संजालमा लेखेका छन्,‘प्रधानमन्त्री रहनु भएको बेला केपी शर्मा ओलीको कार्य पद्दति, पार्टी संचालन, राजनीतिक सोच तथा भूमिकाका बारेमा उठेका प्रायसः प्रश्नहरू जायज होलान् । यस सम्बन्धमा उहाँको आलोचना गर्न सकिन्छ । तर, प्रधानमन्त्री देउवाको वर्तमान सत्ता गठबन्धनमा बिशेषतः माधवकुमार नेपालले निरन्तर जन्माउने गरेका बितण्डा तथा त्यसलाई पछ्याउने माओवादीको भूमिकाले जनाउँदछ कि ओली प्रतिको सर्वसत्तावादको आरोप भन्दा उहाँहरूबाट भइरहेको निरन्तरको अस्थिरतावाद यस मुलुकको विकास र समृद्धिमा ठूलो बाधक हो । आज पुरै नयाँ पुस्तामा वर्तमान राजनीति, संघीयता र गणतन्त्रका बारेमा देखिएको विरक्तता तथा क्षोभको दैत्य खोज्नु पर्दा त्यसको बास उहाँहरूको अन्तर्मन बाहेक अन्यत्र भेटिन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *