तारा एयर दुर्घटनाः ‘ब्ल्याकबक्स’ र बाँकी शव काठमाडौं ल्याइदै

काठमाडौं, जेठ १७ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ। दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मी समेत फिर्ता भएको प्रजिअ शर्माले बताए।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ। तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *