नेपाली सेना र नेपाल प्रहरीद्वारा स्थलमार्गबाट वेपत्ता जहाजको खोजी सुरु

काठमाडौं । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गरी पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनःजोमसोम नै फर्किएको छ ।

काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *