बट्लरको सतकमा बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

एजेन्सी । जोस बट्लरले सिजनको चौथो सतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार बेलुकी भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा प्रवेश गरेको हो ।

अब राजस्थानले आइतबार हुने फाइनल खेलमा गुजरात टाइटान्सको सामना गर्नेछ । पहिलो क्वालिफायरमा गुजरात राजस्थानलाई हराउँदै फाइनलमा पुगेको थियो । पराजित बैंगलोरको भने पहिलोपटक उपाधि जित्ने सपना फेरि एकपटक अधुरै बनेको छ ।

अहमेदाबादमा भएको खेलमा १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । राजस्थानको लागि बट्लरले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै सतक पूरा गरे । उनले ६० बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ६ रन बनाए । यस्तै सन्जु सामसनले २३ र यशस्वी जैसवालले २१ रनको योगदान गरे ।

बैंगलोरको लागि जोश हज्लेवुडले ४ ओभरमा २३ रन दिएर २ विकेट लिँदा वानिन्डु हासारांगाले एक विकेट लिए ।

यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । बैंगलोरको लागि रजत पाटिडरले अर्धसतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन जोडे । फाफ डुप्लेसिसले २७ बलमा ३ चौकाको सहयोगमा २५ रन बनाउँदा ग्लेन म्याक्सवेलले २४ र शहबाज अहमेदले १२ रनको योगदान गरे ।

राजस्थानको लागि प्रसिद्ध कृष्णले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिँदा ओबेद म्याक्वेलेपनि ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र रविचन्द्रन अश्विनले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *