राजनीतिक पहुँचले अभियुक्त उम्किने चिन्ता

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकद्वारा गरिएको यौन दुव्र्यवहार प्रकरणमा अभियुक्तहरू उम्किने चिन्ता बढेको छ। अभियुक्त शिक्षकहरू राजनीतिक पहुँचका आधारमा उम्किने चिन्ता पीडित छात्रामा बढेको देखिएको छ।

‘धेरै पहिलादेखि डरले यो कुरा लुकाएका थियौं। कसैलाई नभन्नु भनेर उहाँले धम्की पनि दिनुभएको थियो’ पीडित एक छात्राले भनिन्, ‘फेरि उहाँहरूको सम्बन्ध पनि ठूलै ठाउँमा छ भन्ने सुनेपछि डर लाग्यो। अति भएपछि बाध्य भएर साथीलाई भनेकी हुँ।’ घटना बाहिर ल्याउँदा दोषीहरू उम्किने चिन्ता उस्तै रहेको ती छात्राले सुनाइन्। ‘नेताले चाहेमा ठूलै अपराधी बचाउन सक्छन् भन्ने सुनेकी छु। उहाँहरूको पहुँच पनि ठूलै मन्त्रीसँग छ रे  त्यसैले आफूले पाएको पीडा पोख्दा पनि न्याय पाइन्न कि?’, उनले चिन्ता व्यक्त गरिन्।

अभियुक्तमध्येका शिक्षक जनार्दन अधिकारी पूर्वमन्त्री गोकुल बास्कोटा सूचना, प्रविधि तथा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा मिडिया विश्लेषकका रूपमा नियुक्त भएका थिए। उनी पूर्वमन्त्री बास्कोटाकै गृह जिल्लाका बासिन्दा हुन्। उनको स्थायी ठेगाना भुम्लु गाउँपालिका १ रहेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री बास्कोटा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्। यही कारण बास्कोटाकै आडभरोसा पाएका अधिकारीले कलेजमा पनि रबाफ देखाउने गरेको कलेजका कर्मचारी र विद्यार्थी बताउँछन्।

उनै शिक्षकबाट लामो समयदेखि यौन दुव्र्यवहारको सामना गर्दा मानसिक तनाव भएको पीडित छात्राले बताइन्। ‘सुरुमा त हामीले उहाँलाई नै प्रिन्सिपल मानेका थियौं। उहाँबाट केही कुरा सिकिन्छ भनेर फेसबुकमा फ्रेन्ड बनाएँ तर उहाँ त फोहोर कुरा गर्न थाल्नुभयो’ उनले भनिन्, ‘त्यसपछि म्यासेन्जर नै ब्लक गरें। त्यसपछि उहाँ भौतिक रूपमै ममाथि दुव्र्यवहार गर्न थाल्नुभयो।’ म्यासेन्जर च्याटमा अश्लील कुरा गर्ने, नग्न तस्बिर माग्ने, बेड पार्टनर अफर गर्ने, लोभलालच देखाएर आफ्नो यौनतृष्णा पूरा गरिदेऊ भनेर ती शिक्षकले आफूमाथि दुव्र्यवहार गर्दै आएको ती छात्राले बताइन्। कुराकानीका क्रममा पीडित छात्राले ती कुरा खोल्न सकिनन्। उनका कुरा उनकी साथीले यसरी सुनाइन्– कसैसँग बेन्चमा बसेका बेला त्यहाँ नबस’, ‘तिमीलाई बेन्चमै सेक्स गर्दिन्छु’, ‘विल यु बी माई बेड पार्टनर ?’ लगायतका यौन दुव्र्यवहारजन्य शब्द उहाँ प्रयोग गर्नुहुन्छ।

ती छात्राले साथी र परिवारसँग यस्ता यौनदुव्र्यवहारका कुरा खोलेपछि अन्य दुई छात्राले पनि आफूमाथि भएको यौन दुव्र्यवहारका कुरा खोलेका छन्। तीमध्येकी एक अर्की छात्राले अर्का शिक्षक राजनकुमार पौडेलमाथि आरोप लगाएकी छन्। उनी कक्षा ११ का नेपाली विषयका शिक्षक रहेको विद्यार्थीको भनाइ छ।

उनले कोभिड १९ का बेला अनलाइन क्लास हुँदा पौडेलले आफूलाई रिक्वेस्ट पठाएको र त्यसपछि आफूमाथि अश्लील शब्द प्रयोग गरेर कुराकानी गरेको बताइन्। ‘त्यसपछि मैले म्यासेन्जर ब्लक गरेकी थिएँ। डरले त्यतिबेला ती कुरा कसैलाई भनिनँ’ उनले भनिन्, ‘पछि क्लास सुरु हुँदा उहाँ कक्षाकोठा र अफिसमै मेरो पिठ्यँुमा हात राखेर मसार्ने र मिनिस्कटमा सेक्सी देखिन्छौ भन्ने गर्न थाल्नुभयो।’ नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *