दलित–गैरदलितलाई छुट्टाछुट्टै धारा ‘बेकार हो छुवाछुतको नारा !’

डोटी । जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो । दलितले गैरदलितको धारामा पानी थाप्न पाउँदैनन् । तर, अचम्म, स्थानीय दलितलाई यो स्वाभाविक लाग्छ, उनीहरू भन्छन्, ‘हामीलाई धारा छँदैछ, पानी खान पाएकै छौं, बेकार हो छुवाछुतको नारा !’

यसरी जातका आधारमा विभेद गर्नु कानुनी अपराध हो, तर पूर्वीचौकीका बासिन्दालाई यो कुनै अस्वाभाविक कार्य लाग्दैन । कसैले आपत्ति पनि जनाउँदैन । कोही बाहिरबाट त्यहाँ पुगेको व्यक्तिले कुरा उठाउँदा ‘हामी मिलेर बसेका छौं, तिमीलाई केको खसखस’ भन्ने जवाफ प्राप्त हुन्छ ।

पूर्वीचौकी गाउँपालिका–२ कुडासैनमा वर्षौंदेखि दलित र गैरदलितका लागि खानेपानीका छुट्टै धारा निर्माण गरिएका हुन् । उक्त गाउँको पनीको मुहानमा तीन वटा पानीका धारा निर्माण भएका छन् ।

तीन धारामध्ये दुई वटा धाराको पानीमा कुडासैनका दलित समुदायका व्यक्तिहरूले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । तर, कहिलेकाँही उक्त धारामा पानी नआउँदा भने दलितहरूले टाढाबाट गैरदलितलाई नछुने गरी भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको भने स्थानीय दलितहरू स्वीकार गर्दछन् ।

दलित र गैरदलितको खाने पानीको धारा फरक–फरक रहनु लज्जाको विषय भएको जिल्ला सदरमुकाममा रहेका दलित अगुवाहरूको भनाइ छ । तर, स्थानीय दलितलाई सामाजिक विभेदको चेतना छैन । नेपालको कानुन र संवीधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि डोटीका बिकट गाउँहरूमा उक्त कानुन लागु हुनसकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *