गहुँ निकासीमा भारतको प्रतिबन्धः नेपाली उद्योगमा ३ महीनापछि समस्या

विराटनगर । भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ ।

स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले सरकारले जीटूजीमार्फत भारतबाट गहुँ आयात गर्नुपर्ने सुझाव उनीहरूको छ ।

उनीहरूले ३ महीनापछिका लागि अहिलेदेखि नै सरकारले भारत सरकारसँग छलफल गर्नुपर्ने बताएका छन् । भारतबाट गहुँ आयात गर्न नसके नेपालको उत्पादनले धान्न नसक्ने हुँदा उद्योग बन्द गर्नुको विकल्प नरहने बताएका छन् । हालसम्म नेपालमा बीउबाहेक अन्य प्रयोजनमा उपयोग हुने गहुँ भाारतबाटै आयात भइरहेको छ ।

मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले आफूसँग १ महीनालाई पुग्ने गहुँ स्टक रहेको बताए । केही महीना नेपालकै उत्पादनले धाने पनि बाँकी समय भारतीय गहुँकै भरमा उद्योग सञ्चालन गर्ने गरेको उनले बताए ।

भारतले गहुँ निकासीमा लगाएको प्रतिबन्धले यहाँका मैदा मिल र त्यसमा आधारित चाउचाउ, बिस्कुटलगायत उद्योगलाई ठूलो असर पर्ने भएकाले सरकारले भारत सरकारसँग वार्ता गरेर नेपाललाई आवश्यक पर्ने गहुँ आयात गर्नुपर्ने बेगवानीले सुझाए ।

गहुँ आयात गर्न नसकेर भारतबाट आँटा र मैदा ल्याएर उद्योग चलाउँदा २५ देखि ३५ प्रतिशतसम्म महंगो हुन जाने उनले बताए । ‘जीटूजीमार्फत गहुँ नै आयात गरेर उद्योग चलाउँदा आम उपभोक्ताले कम मूल्यमा उत्पादन पाउँछन्,’ उनले भने ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड रुपैयाँ बराबरको झन्डै ३ लाख ३६ हजार मेट्रिक टन गहुँ आयात भएको थियो ।

विराटनगर नाकाबाट गतवर्ष झन्डै २ अर्ब २० करोड रुपैयाँ बराबरको ६ हजार ८ सय मेट्रिक टन गहुँ आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनका अनुसार भारतले निकासीमा प्रतिबन्ध घोषणा गरेपछि विराटनगर नाकाबाट गहुँ आयात भएको छैन । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *