एमबाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जीत

एजेन्सी । युवा फरवार्ड किलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा नेयमार जुनियर र एन्जल डी मारियाले एक/एक गोल थपे । खेलको २५ औं मिनेटमा डी मारियाको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मेस्सीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

३२ औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजी सहज जीततर्फ अगाडि बढेको थियो । ५० औं मिनेटमा एमबाप्पेले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गर्दा पीएसजीले खेलमा ४-० गोलको अग्रता लिएको थियो । एमबाप्पेले शनिबार मात्र क्लबसँग नयाँ सम्झौता गर्दै पीएसजीमै बस्ने निर्णय लिएका थिए ।

५८ औं मिनेटमा बोउबाकार ट्राओरे रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मेट्ज १० खेलाडीमा समेटिएको थियो । यस्तै ६७ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई ५-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी ५-० गोलले विजयी भयो ।

जीतसँगै पीएसजी ३८ खेलबाट ८६ अंक जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ भने पराजित मेट्ज समान खेलबाट ३१ अंक जोड्दै लिगको १९ औं स्थानमा रहँदै रेलिगेसनमा परेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *