काठमाडौंमा बालेन, विराटनगरमा कोइराला, भरतपुरमा रेनु र धनगढीमा स्वतन्त्र उम्मेदवार अग्रता बढाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले मतान्तरलाई फराकिलो बाउँदै लगेका छन् । मंगलबार राति साढे दश बजेसम्मको परिणाम अनुसार बालेनले १३ हजार २६४ मतका साथ अग्रता बढाएका हुन् । नेकपा एमालेका केशव स्थापितले ७,१४६ मत पाउँदा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६,२८७ मत पाएकी छन् ।

चितवनमा रेनुको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ६०१ मतले अग्रता लिइरहेकी छन् । मंगलबार राति ११ बजेसम्म २२ हजार ६८६ मत गणना हुँदा रेणुले ७ हजार ८५७ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २५६ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ७३९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ४७९ र राप्रपाका हिमला गुरुङले ६ हजार मत प्राप्त गरेकी छन् ।
विराटनगरमा नेपाली कांग्रेसको अग्रता
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ९ हजार ८८२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । एमालेका सागर थापाले ७ हजार ६३० मत र स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार २३७ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले आठ हजार ६९० मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले पाँच हजार ४०६, राप्रपाका विन्दाकुमारी लुइँटेल दुई हजार ५२७ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ८९१ मत प्राप्त गरेका छन् ।
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता
कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १९ हजार ५६० मतगणना भएको छ। मंगलबार राति ९ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले ९ हजार ३० मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत पाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *