कास्कीको अन्नपूर्णमा एमाले विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

नव निर्वाचित केसीले छ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गरे । विसं २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित भएका हुन् ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खेमकुमारी गुरूङले छ हजार १४ मत प्राप्त गरिन् । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १० मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

जिल्लाका पाँच स्थानीय तहमध्ये हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेस माछापुच्छ्रेको अध्यक्ष र उपाध्यक्षसहित सात वडाध्यक्षमा विजयी भएको छ । पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा कांग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *