स्वतन्त्र उम्मेदवारी दिएर जित्नेहरु

काठमाडौं । पार्टीले टिकट नदिएको झोंकमा उम्मेदवारी दिएका र कुनै पार्टीमा संलग्न नभई उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरु ठूला दलका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार गोपाल हमाल अरु प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढिरहेका बेला विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएको परिणाम सार्वजनिक भएको हो ।

उदयपुरका दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । अघिल्लो पटक नेकपा एमालेबाट निर्वाचित भएका उनीहरूले पछि नेकपा एकीकृत समाजवादी रोजेका थिए । तर गठबन्धनबाटै टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका उदयपुरगढी गाउँपालिका २ का इन्द्रबहादुर राउत र लिम्चुङबुङ गाउँपालिका ३ का गुरुमणि कुमाईले वडाध्यक्ष जितेका हुन् । उदयपुरगढी २ मा राउतले एमालेका दीपक तामाङलाई १२२ मतले पराजित गरेका हुन् । धारा चिन्हबाट चुनाव लडेका राउतले ३८७ र तामाङले २६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनबहादुर कार्कीले जानकारी दिए । राउत यसअघि पनि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष थिए । त्यस्तै लिम्चुङबुङ गाउँपालिका ३ जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार गुरुमणि कुमाईले कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ मतले पराजित गरेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । कांग्रेस नेता तण्डुकार पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेका थिए ।

त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव १ मतको अन्तरले विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कोइरीलाई पराजित गरेका हुन् । निर्वाचित यादवले ७२७ मत ल्याएका छन् भने उनको निकटम प्रतिस्पर्धी माओवादीका कोइरीले ७२६ मत पाएका थिए ।

त्यसैगरी जुम्लाको कनाकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी भएको छ । कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायलाई प्रतिनिधित्व गर्दै कामीले प्यानलै बनाएका थिए । चुनावमा आफ्नो समुदायलाई टिकट नै नदिएको भन्दै उनीहरुले समूदायको प्रतिनिधित्व गर्दै धनबहादुरसहित तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।

त्यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् । स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै, लमजुङमा सत्ता गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार समेत वडाअध्यक्षमा विजयी भएका छन् । दूधपोखरी गाउँपालिका ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङ २ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । निकटत प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन् । आकाश ५१२ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अघिल्लो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *