काठमाडौं महानगरमा सात स्थानबाट एकसाथ मतगणना गर्ने तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ ।

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए ।

कार्यालयले छ/सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ । वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुवात गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिएका छन् ।

साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा (एमाले)का केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *