जनकपुर। सुरक्षा दृष्टिकोणले संवेदनशील मानिँदै आएको मधेस प्रदेशका ८ वटै जिल्लामा अवैध हतियारको कारोबार बढ्दैगएको छ। पछिल्लो समय राजनीतिक सरगर्मी बढेसँगै सीमावर्ती क्षेत्रबाट अवैध हतियार ल्याएर आपराधिक क्रियाकलाप गर्नेको संख्या बढेको प्रहरी अनुसन्धानले नै देखाएको छ।
आर्थिक वर्ष २०७६र७७ मा ७१ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गतवर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधीबाट वारिका अपराधीले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएरसमेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्।
मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ। करिब चार सय २८ किलोमिटर खुला सीमानाका रहेको प्रदेश २ मा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिएको आजको नागरिक दैनिकमा खवर छ ।