मतपत्र च्यात्न पाँचवटा बाँदर एकैचोटी आउँछन्ः ओली

काठमाडौं, बैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्नसक्ने आशंका व्यक्त गरेका छन् । पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धन भोटले चुनाव नजित्ने दाबी गर्दै सत्ता गठबन्धनले धाँधली गर्नसक्ने आशंका व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामीले अघिल्लोपटक पनि भरतपुरमा हेरेका छौं । मतपत्र च्यात्ने, थुत्ने, चपाउने, निल्ने त्यस्तै के के गरेर जित्ने हो । पशुपतिमा देखेका छौं, फूलको थाली बाँदरले खोसेर लग्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ त पाँचवटा बाँदर एकैचोटी आउँछन् । त्यसैले हामी सचेत हुनु जरुरी छ ।’यसअघि, भरतपुरमा आयोजित चुनावी सभामा पनि आफूले सेना, प्रहरी र निर्वाचनमा खटिने कर्मचारीहरूलाई तटस्थ ढंगले निर्वाचन गराउन आग्रह गरेको स्मरण गर्दै उनले भने–‘प्रहरी प्रशासन, कसैको सहयोग चाहिँदैन । सहयोग चाहिएको जनताबाट हो । जनताको अभिमत जस्ताको तस्तै प्रकट हुने गरी निर्वाचन गराउनुस् ।’

उनले कार्यकर्ताहरूलाई मतगणना नसिकिन्जेलसम्म मतपत्रबाट आँखा दायाँबायाँ नगर्न आग्रह गर्दै भने– ‘कसैले शान्ति सुव्यवस्थामा खलल पार्छ भने त्यसलाई रोक्नुपर्छ, बाकस एकछिन पनि आँखाबाट ओझेल पार्नु हुँदैन । जनताले मत हालेर मात्रै हुँदैन, मतपत्रको गणनामा सुदृढ ढंगले लाग्नुपर्छ ।’ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा के परिणाम ल्याउँछ भन्ने कुरा प्रष्ट भइसकेको र एमाले विजय भइसकेको भन्दै उनले कर्मकाण्ड पूरा गर्ने र विधि पु¥याउने काम मात्रै बाँकी रहेको दाबी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *