विगतका काम नै जीतको आधार होः वासुदेव थापा

काठमाडौं । दोहोर्याएर स्थानीय निकायको प्रमुखको उम्मेदवारको टिकट पाउने कम उम्मेदवार छन् । तीनै कम उम्मेदवार मध्येमा पर्छन् भक्तपुर सूर्यविनायक नगरपालिकाका निवर्तमान मेयर तथा प्रमुख वासुदेव थापा । एमालेले यस पालिको स्थानीय निर्वाचनमा दोहो¥याएर टिकट दिएका मध्येमा थापा पनि परेका छन् । आफ्नो कार्यकालमा कुनै पनि दाग नलागेका उम्मेदवारलाई मात्र दोहोर्याएर टिकट दिने पाटीको निर्णय थियो । उल्लेखित सर्तभित्र परेपछि थापाले पुनः टिकट पाएका थिए । पहिलो पटक मेयरको भूमिकामा रहंदा आफूले घोषणा गरेको भन्दा तेब्बर काम सम्पन्न गरेकै कारण नगरवासीको प्रिय बनिसकेको थापा बताउँछन् ।

थापा मेयरको रुपमा निर्वाचित हुँदा सूर्यविनायक नगरपालिकाको विकासको स्थिति धेरै हिसावले लथालिंङ्ग थियो । सडक, पानी, ढल, जीर्ण बनेको विद्यालय भवन, खानेपानीको उचित व्यवस्थापनको अभाव थियो । नगरपालिकाको संरचना नीतिगत रुपमा सीमित थियो अन्य पूर्वाधार शून्यकै अवस्थामा थिए । नगरमा वडा कार्यालय बनेका थिएनन् । भौतिक पूर्वाधारको विकास पछि अन्य विकासका कार्यहरु अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ थापाले नगरमा सडक, खानेपानी, पुल , ढल जस्ता पक्षको निर्माणको लागि निरन्तर लागे ।

यो अवधिमा ३ सय किलोमिटर सडक निर्माण र १ सय १० किलोमिटर सडकको कालोपत्रे, ३३ वटा पुल निर्माण, ३७ वटा बिद्यालयको पक्की भवन निर्माण, २६ किलोमिटर ढल, अस्पताल निर्माण सम्पन्न भएका छन् । यही अवधिमा भक्तपुरको पर्यटकीय धार्मिक सम्पदाको रुपमा रहेको डोलेश्वर महादेव मन्दिर र अनन्तलिंगेश्वर मन्दिरको निर्माण तथा सुधार गर्ने काम सम्पन्न भएको छ । मन्दिरको सुधारले धार्मिक पर्यटकको लागि बाटो खुल्ने र पर्यटकीय विकास हुने थापाले बताए । एक घर एक धारा पानी व्यवस्थापन गर्ने लक्ष्यले ९३ करोडमा वडा नम्वर चारमा खाने पानी योजना सुरु भइसकेको छ ।

ज्येष्ठ नागरिकका लागि ७ वटा ठाउँमा विश्राम स्थल निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको लागि नीति नै बन्यो । ज्येष्ठ नागरिकको सम्मान नगर्ने व्यक्तिलाई नगरपालिकाको सुविधा नपाउने नियम बन्यो । यो नियमसहित शिक्षा, महिला विकास लगायत ६२ वटा ऐन नियम बनाएर कार्यसम्पादन गरेको थापाले अनुभव सुनाए ।

पहिलो कार्यकालमा नगर समितिका जनप्रतिनिधिहरु भिन्न पार्टीवाट निर्वाचित भएका थिए । तर उनीहरुसंग कुनै पनि प्रकारको विवाद भएन । कुनै पनि विवाद हुन नदिनको लागि थापा सवैको सम्मान र अस्तित्वको वातवरण सिर्जना गरेको बताउँछन् । ‘मैले कुनै जात, जाति र क्षमताको आधारमा विभेद गरिन १ सय २२ वटा वैठकमा कुनै विवाद भएन’ थापाले कार्यकालको स्मरण गर्दै भने ।

पहिलो कार्यकालमा अधुरा रहेका कामहरु गर्न आफू इच्छुक रहेको र आफूसंगै नगरवासीको विश्वासले उम्मेदवारी दिएको थापाले बताए । युवा,महिला, आर्थिक तथा सामाजिक रुपमा पछि परेका समुदाय र समुहको हितमा काम गर्न, हनुमन्ते कोरिडोर निर्माण गर्न, वाँकी रहेका सडक कालोपत्रे गर्न र मेलम्चीसहित वैकल्पिक स्रोतवाट नगरवासीलाई पानी आपुर्ति गर्ने लगायतका थुर्पै काम अधुरा छन् । ती कामहरु पुनः निर्वाचित भएपछि पुरा गर्ने थापाले बताए ।

‘मेरो अन्तिम उम्मेदवारी हो, पाटीको चुनाव बाहेक अन्यत्र उठ्दिन’ थापाले आफ्नो उम्मेदवारी समाजसेवाकै लागि भएको जोड दिंदै भने । युवाहरुलाई विदेशपलायनवाट रोक्नको लागि युवा व्यवसाय तथा सीप कार्यक्रम लिने, महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप तथा अनुदानको कार्यक्रम, युवाहरुलाई आत्मनिर्भर बनाउन सीप तथा विना धितो ऋणको व्यवस्था गर्ने, दलित समुदायको हकमा प्रभावकारी हुने गरी दीगो सीप तथा अनुदानको व्यवस्था गर्ने लगायतका योजना रहेको थापाले सुनाए ।

थापामा ज्येष्ठ नागरिकहरुलाई सम्मान र सहज रुपमा जीवन व्यतित गर्नको लागि प्रत्येक वडामा विश्रामस्थल, युवाहरुको लागि खेलकुद स्थल निर्माण गर्ने सोंच रहेको छ । नगरवासीको स्वास्थ्य सुरक्षाको लागि गत वर्षदेखि नै प्रत्येक व्यक्तिको लागि १ हजार अनुदान दिएर स्वास्थ्य विमामा समेटेको र विपन्न नागरिकको उपचारको लागि विशेष व्यवस्था गर्ने योजना थापासंग छ । ‘विपन्न नागरिक पैसा नभएकै कारण उपचार नपाउने स्थिति आउन दिंदैनौ’ थापाले भने ।

भक्तपुरको सूर्यविनायक वडा नम्वर १० जन्मेका थापाको परिवारमा मुख्य पेशा कृषि तथा पशुपालन थियो । थापाले पारिवारिक पेशालाई थप विस्तार गरे । उनले गाउँमा उत्पादन भएको दुध सहरमा पुर्याएर मिठाइपसलहरुमा विक्री गर्थे । यो व्यवसायवाट पर्याप्त आम्दानी गर्न सफल भए । कृषि र राजनीतिलाई समानान्तर रुपमा अघि बढाएका थापा २०५४ सालमा एमालेमा प्रवेश गरे ।

राजनीतिक जीवनको लामो यात्रामा ठूला साना गरी १८ वटा निर्वाचनमा भाग लिइसकेको र सवैमा जीत हाँसिल गरेको थापाले अनुभव सुनाए ।
‘निर्वाचित भइसकेपछि जनतावाट उठेको कर जनताको हितमा प्रयोग गरेका छौं, पुनः मलाई नै मत दिनुहुन्छ भन्ने विश्वास छ’ थापाले आत्मविश्वासका साथ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *