धनकुटामा पालिका हाँक्ने यस्ता छन् एमालेका उम्मेदवार

धनकुटा । नेकपा एमाले धनकुटाले स्थानीय पालिकामा प्रमुख पदका उम्मेदवारहरु लामो समयदेखि राजनीतिमा होमिएका व्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ७ वटै पालिका जितेर क्लिनस्वीप गरेको एमालेले यस पटक पनि क्लिनस्वीप गर्ने दावी गरेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि एमालेले उम्मेदवार बनाएका व्यक्तिहरुको विषयमा संक्षिप्त चर्चा जानकारी यस्तो रहेको छ ।
चिन्तन तामाङ/धनकुटा नगरपालिका
धनकुटामा सवैभन्दा पहिला सर्वसम्मत उम्मेदवार बनेका थिए चिन्तन तामाङ । धनकुटा नगरपालिका वडा नम्बर १ हिले निवासी तामाङ २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका थिए । २०४९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । एमालेभित्र शालिन र भद्र नेताको रुपमा तामाङ स्थापित छन् । एमाले धनकुटाका उपाध्यक्ष तामाङ कार्यकर्ताको भावना बुझ्ने र राजनीतिक घेराभन्दा माथी उठेका नेताको रुपमा चिनिन्छन् । उनको कार्यकालमा धनकुटा नगरपालिकामा भएको विकास निर्माण र परिवर्तनको कारण दोस्रोपटक फेरि टिकट पाउन सफल भएका छन् ।
भीमबहादुर राई/पाख्रीबास नगरपालिका
२०५४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन स्थायी शिक्षकको जागिर छाडेर फलाटे गाविस अध्यक्ष भएका भीमबहादुर राई एमालेका शालिन नेता हुन् । पार्टीको नीति र निर्देशनलाई अक्षरशः पालना गर्ने राई सर्वसम्मत उम्मेदवार बनेका हुन् । एमाले धनकुटाका सचिवालय सदस्य राई मेयरको टिकट पाउने नयाँ अनुहार हो । पाख्रीबास नगरपालिका वडा नं. ७ निवासी राई ४० बर्षदेखि बामपन्थी राजनीतिमा छन् ।
दीपक बुढाथोकी/महालक्ष्मी नगरपालिका
२०५४ सालको स्थानीय तह निर्वाचनमा चानुवा गाविस अध्यक्ष निर्वाचित भएका दीपक बुढाथोकी एमालेका पुराना नेता हुन् । सूर्यबहादुर थापाको दवदवा हुँदा समेत एमालेको संगठन विस्तारमा क्रियाशील रहेका बुढाथोकी सर्वसम्मत उम्मेदवार भने बन्न सकेनन् । बहालवाला मेयर पर्शुराम नेपालसँग टिकटको दौडमा रहेका बुढाथोकीलाई नेतृत्वले साथ दिएका थिए । पार्टीभित्र हक्की स्वभावका बुढाथोकी ३५ बर्षदेखि एमालेको राजनीतिमा हुन् ।
शेरबहादुर लिम्बु/छथर जोरपाटीगाउँपालिका
नीति नियमभित्र रहेर राम्रो काम गरेको छाप बनाउन सफल भएका शेरबहादुर लिम्बुले दोस्रो कार्यकालको लागि एमालेबाट टिकट पाएका हुन् । शिक्षक जागिर छाडेर राजनीतिमा आएका लिम्बु विद्यार्थी÷युवा राजनीतिवाट उदाएका नेता हुन् । २०७४ सालको निर्वाचनमा लोकप्रिय मतसहित विजयी भएका लिम्बु जनतामाझ उतिकै लोकप्रिय छन् । धनकुटाको ताङखुवा निवासी लिम्बु एमाले धनकुटाको सचिवालय सदस्य हुन् ।
मनोज राई/सहिदभूमि गाउँपालिका
विद्यार्थी राजनीतिबाट उदाएका नेता मनोज राई दोस्रो कार्यकालका लागि टिकट पाउने भाग्यशाली उम्मेदवार हुन् । धनकुटाको आँखिसल्ला निवासी राई मिठो भाषणकला भएका ब्यक्ति हुन् । आँखिसल्लाको थलथले बजारमा राप्रपा र कांग्रेसको दवदवाकावीच अन्तरसंघर्ष गरेर हुर्किएका राई २०७४ सालको निर्वाचनमा धेरै पुराना नेतालाई पछि पार्दै उम्मेदवार बनेका थिए । शिक्षक जागिर छाडेर पूर्णकालिन राजनीतिमा आएका राईलाई माओवादीहरुले युद्धकालमा कार्वाहीको सूचीमा राखेका थिए । एमाले धनकुटाका सचिवालय सदस्य राई २८ बर्षदेखि एमालेको राजनीतिमा छन् ।
राजकुमार चेम्जोङ/चौविसे गाउँपालिका
एमालेले उम्मेदवार बनाएका मध्ये नयाँ अनुहारको रुपमा राजकुमार चेम्जोङ छन् । धनकुटाको बसन्तटार निवासी लिम्बु सानैदेखि राजनीतिमा चासो भएपनि एक दशकयता सक्रिय राजनीतिमा आएका हुन् । चौविसे गाउँपालिकामा लिम्बु समदायबाट एमालेलाई उम्मेदवार बनाउन सकस परिरहेको वेला उत्कृष्ट विकल्पको रुपमा चेम्जोङलाई उम्मेदवार बनाएको हो । एमालेको चौविसे गाउँपालिका अध्यक्ष चेम्जोङ युवाहरुमाझ लोकप्रिय छन् ।
कुमारजंग याखा/साँगुरीगढी गाउँपालिका
एमालेभित्र तेस्रोपटक जनप्रतिनिधिको लागि टिकट पाउने भाग्यशाली व्यक्ति हुन्, कुमारजंग याखा । धनकुटाको डाँडाबजार निवासी याखा २०५४ सालमा डाँडाबजार गाविस अध्यक्षमा निर्वाचित भएका थिए । भलिवलका राम्रो खेलाडीको रुपमा कहलिएका याखा २०७४ सालको निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले धनकुटाको सचिवालय सदस्य याखा ३० बर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *