इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका निर्वाचनमा झलनाथ खनाललाई टिकट दिनु गल्ती भएको बताएका छन् । बुधबार इलामको माइ नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कार्यकर्ता र जनताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन अग्रसर भएको भन्दै त्यस्ता व्यक्तिलाई टिकट दिनु गल्ती भएको बताएका हुन् ।
उनले एमालेका कार्यकर्ताको भोटबाट चुनाव जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर बनेको आरोप लगाए । अध्यक्ष ओलीले पार्टी सिध्याएर कांग्रेसको पछि लागेकाहरुबाट सचेत हुन र बाटो बिराउनेहरुलाई एमालेमा फर्किन आह्वान गरे ।
उनले भने,‘कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर भएर हल्लिने भएका छन् । यस्तालाई विगतमा टिकट दिनु मेरो भूल भयो ।’ उनले एक दुई वटा पात झर्दैमा रुख नांगो नहुने बताए । एक दुई वटा फल कुहिएर झर्दा रुखलाई केही असर नहुने भन्दै अध्यक्ष ओलीले एमाले लटरम्म फल लागेको पार्टी जस्ताको तस्तै हुने बताए ।
