गठबन्धनका कारण एमालेलाई धेरै फाइदा भएको छः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय व्यवस्थामा गइसकेको बताएका छन् । मंगलबार झापाको मेचीनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकातिर नेकपा एमाले र अर्कोतिर गठबन्धन नामको पार्टी रहेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धन पनि एउटा पार्टी जस्तै हो। एउटा पक्ष गठबन्धन। एउटा पक्ष एमाले । एमालेसँग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ।’

उनले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताए । उनले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पराजित गर्ने दाबी गरे । उनले भने,‘यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै दललाई एकै पटक क्रयाककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको बताए । अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत झापा जिल्लालाई लाल किल्ला बनाउने दाबी गरे । अध्यक्ष ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए । उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *