प्रिमियर लिगमा युनाइटेडको सहज जीत

 एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जीत निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफायल भरानले एक/एक गोल गरे । खेलको नवौं मिनेटमै इलाग्नाको पासमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा एलेक्स टेलेसको क्रसमा भरानले गोल गर्दा युनाइटेड सहज जीततर्फ अगाडि बढेको थियो । युनाइटेडबाट भारनको यो पहिलो गोल हो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३-० गोलले विजयी भयो । जीतसँगै च्याम्पियन्स लिग छनोटबाट लगभग बाहिरिएको युनाइटेडले आगामी सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

हाल युनाइटेड ३६ खेलबाट ५३ अङ्क जोड्दै लिगको छैटौं स्थानमा यथावत छ भने पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अङ्कको साथ १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *