वीरगञ्ज, बैशाख १८ । विद्युत् आपूर्ति ठप्प हुँदा बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन ठप्प भएको छ । यस क्षेत्रका उद्योग प्रतिष्ठानले ४ दिनदेखि बिजुलीको मुख देख्न पाएका छैनन् ।
नेपाल विद्युत् प्राधिकरणले दैनिक १२ देखि १६ घण्टासम्म लोडशेडिङ हुने बताए पनि कोरिडोरका उद्योगमा ४ दिनदेखि विद्युत् आपूर्ति ठप्प छ । विद्युत् आपूर्ति ठप्प भएपछि कोरिडोरका उद्योगको उत्पादन शून्यमा झरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । यस क्षेत्रमा सानाठूला गरी २ हजार उद्योग रहेको संघको अनुमान छ ।
भारतबाट ५०० मेगावाट बिजुली ल्याएर आपूर्ति भइरहेकोमा उताबाट निकासी रोकिएपछि उद्योगमा आपूर्ति दिन नसकेको प्राधिकरणको भनाइ छ । रूस र युक्रेनबीचको तनावले उत्पन्न कोइला अभावले भारत आफै ऊर्जा संकट सामना गरिरहेको छ । भारतले आन्तरिक आपूर्ति व्यवस्थापनका लागि नेपालतर्फको निकासी बन्द गरेको हो ।
भारतबाट आउने ५०० मेगावाट बिजुली अहिले ३६ मेगावाटमा झरेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए । ‘बारा–पर्सा कोरिडोरका उद्योगमा आपूर्ति बन्द गरिएको छ । अहिले गार्हस्थ्य उपभोक्तालाई मात्रै आपूर्ति भइरहेको छ । उद्योगमा बिजुली दिन अझै केही दिन लाग्न सक्छ,’ झाले भने ।
प्राधिकरणले उद्योगमा आलोपालो गरेर आपूर्ति गरिने बताए पनि भारतबाट ल्याउन नसकेपछि लगातार बिजुली काटेको हो । बारा–पर्सा कोरिडोरका उद्योगहरूमा भारतबाट आयातित विद्युत् बढी आपूर्ति हुने गरेकाले बढी प्रभावित भएका छन् । आर्थिक अभियान दैनिकबाट