नेकपा फुटको संघारमा, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पदमुक्त

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई महासचिव विप्लवले पदमुक्त गरेका हुन् ।

पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र वली विपक्षमा थिए । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

महासचिव विप्लवले वली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका छन् ।

उनले काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको बताएका छन् ।

‘तर निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो’, उनले भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *