USAID

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति कार्यालयमा आइतबार अपराह्न आयोजित कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिएकी हुन् ।

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उनले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताइन् ।

कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पुर्याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताइन् ।

“अर्थतन्त्रको सुदृढीकरण प्रक्रियामा पारदर्शिता, सुशासन, जवाफदेहिता आवश्यक छ, गुणस्तरीय र रोजगारीमूलक शिक्षाका माध्यमबाट अर्थतन्त्रलाई उन्नयनको दिशामा अग्रसर गराउन सकिनेमा म विश्वस्त छु,” राष्ट्रपतिले भनिन् ।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराइन् । महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उनले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गरिन् ।

स्वस्थ एवं दक्ष जनशक्तिबाट नै राष्ट्र निर्माणको गुरुत्तर अभिभारा पूरा गर्न सकिने राष्ट्रपतिको अभिव्यक्ति थियो । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना संस्थापक प्रमुख कार्यकारी हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो । तत्कालीन सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको २५ वर्षको सेवामा रहँदा मल्लले संस्थाको श्रीवृद्धिका निम्ति विशेष योगदान गरेका थिए ।

यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत र डा गौरीशङ्करलाल दासले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *