उपाधिको लागि एपीएफ र पुलिस भिड्दै

धनगढी । धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फूटबल प्रतियोगिताको उपाधिको लागि आज दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने फाइनल खेल बेलुकी साढे ६ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । शुक्रबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दावी गरेका थिए । पछिल्लो वर्षहरुमा एपीएफले महिला फूटबलमा एकछत्र राज गर्दै आएको छ । आज एपीएफको दबदबालाई चिर्दै उपाधि जित्नेमा पुलिस विश्वस्त रहेको छ ।

एपीएफले क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८-० र सेमिफाइनलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई ३-२ गोलले पन्छाउँदै फाइनलको बाटो कोरेको थियो भने पुलिसले क्वाटरफाइनलमा चन्द्रपुर नगरपालिकालाई १-० र सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३-० गोलले हराएको थियो ।

उपाधि विजेता टोलीले ट्रफीसहित नगद ५ लाख पाउनेछ भने उपविजेता बन्ने टोलीले २ लाख ५० हजारमा चित्त बुझाउनेछ । विभिन्न विधामा उत्कृष्ट रहने खेलाडीले १०/१० हजार पाउनेछ्न् भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तस्बिर:- खेलपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *