एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जीत निकालेको छ । शनिबार बेलुकी घरेलु मैदानमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३-२ गोलले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन रोनाल्डोले ह्याट्रिक पुरा गर्दा नर्विचको लागि किएरन डोवेल र टेमु पुकीले एक/एक गोल गरे । खेलको सातौं मिनेटमा इलाग्नाको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा टेल्लेसको क्रसमा रोनाल्डोले हेडिंङमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा पुकीको क्रसमा डोवेलले हेडिंङ गोल गर्दै नर्विचलाई २-१ गोलको स्थितिमा ल्याए । ५२ औं मिनेटमा डोवेलको पासमा पुकीले गोल गर्दा नर्विचले खेलमा २-२ गोलको बराबरीमा गरेको थियो । बराबरीतर्फ लम्किएको खेलको ७६ औं मिनेटमा रोनाल्डोले फ्रि-किकमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर युनाइटेडलाई ३-२ गोलको जीत दिलाए । यससँगै रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पुरा गरेका छन् ।
जीतसँगै युनाइटेड ३२ खेलबाट ५४ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । पराजित नर्विच समान खेलबाट २१ अंकको साथ लिगको पुछारमा छ ।