धनगढी । आगामी स्थानीय तहको निर्वाचनमा कैलालीमा चार दलले बेग्लै गठबन्धन गरेका छन् । जनता समाजवादी पार्टी(जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।
योसँगै जसपाले कैलालीमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने निश्चित भएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी चार दलले गठबन्धन गरेको जानकारी गराएका छन् । साथै उनीहरुले गठबन्धन गर्ने सहमति पत्रमासमेत हस्ताक्षर गरेका छन्। उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन्।
