काठमाडौं । नेकपा एमाले विभाजन भएपछि तीन वटा निर्वाचन भएका छन् । नेपाल पत्रकार महासंघ, राष्ट्रियसभा र नेपाल बार एसोसिएसनको निर्वाचन भएका छन् । यी तीन वटै निर्वाचनमा गठबन्धनका उम्मेदवार बढी विजयी भए । पत्रकार महासंघ र बार एसोसिएसन पेशागत संगठन भए । यसले आमनिर्वाचनलाई प्रतिनिधित्व गर्दैन । तैपनि सत्ता गठबन्धनलाई रमाउने एउटा बाटो हो यो । राष्ट्रियसभा निर्वाचनमा एमालेले आठ सिट गुमाएको छ भने एक सिट थपेको छ । एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टीले चार सिट थपेको छ ।
गठबन्धनका कारण आफूहरु अहिले धेरै स्थानमा जित्ने अपेक्षामा खासगरी एकीकृत समाजवादी हौसिएको छ । तर निर्वाचन आउन एक महिना पनि बाँकी नहुँदा एकीकृत समाजवादीले कुन पालिकामा कति जनप्रतिनिधि आफ्नो पक्षमा खुलेका छन् भन्ने यकिन गर्न सकेको छैन । एकीकृत समाजवादीका सचिव डा. गंगालाल तुलाधर मेयर, उपमेयर वडा अध्यक्ष, सदस्यसमेत १५ सय जनप्रतिनिधि आफ्नो पार्टीमा खुलेको दाबी गर्छन् । तर त्यो दाबी गठबन्धनमा आफ्नो भाग बढी खोज्नका लागि गरिएको गठबन्धन दलभित्रकै अन्य पार्टीको नेताले बताउने गरेका छन् ।
अहिले जसले जे दाबी गरेपनि स्थानीय तहको निर्वाचनमा को बलियो छ भन्न विगतको निर्वाचन परिणामलाई पनि हेर्नुपर्ने हुन्छ । एकीकृत समाजवादीले १५ सय जनप्रतिनिधि आफ्नो पक्षमा खुलेको दाबी गरेपनि यसबाट एमालेलाई खासै असर नपरेको अनुमान गर्न सकिन्छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले देशभर २ सय ९२ पालिकामा चुनाव जितेको थियो । उसले मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यसमेत गरी करिव १२ हजार सिट जितेको थियो ।
तर अहिले माओवादी केन्द्र, कांग्रेस र जसपा लगायतका दल छाडेर ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । त्यसबाट एमालेको सिट संख्या अझ बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।
तर आफ्नो पक्षमा एमालेका ठूलो संख्यामा जनप्रतिनिधि छन् भन्ने एकीकृत समाजवादीको दाबीका कारण यतिबेला सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । खटपट सुरु भएको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पार्टीको बैठकमा गरेको ब्रिफिङबाट पनि स्पष्ट हुन्छ । पार्टी केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको बताए । बैठकमा प्रचण्डले माधव नेपालमा अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको उल्लेख गरेका थिए । बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने,‘माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छ ।नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’
त्यसैगरी पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन् । जसपाले त बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ ।
