सत्ता गठबन्धन निर्वाचन सार्ने प्रपञ्चमा किन ?

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब एक महिना मात्र समय बाँकी छ । निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३५ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको मतपत्र छापिनेक्रम जारी छ । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरी पनि छनोट गरिरहेको छ । त्यस्तै दलहरु चुनावी घोषणपत्र सार्वजनिक गर्ने तयारीमा लागेका छन् भने चुनावी सभा, पार्टी प्रवेशका कार्यक्रम पनि भइरहेका छन् । राजनीतिक दलले उम्मेदवार छनोटलाई पनि अन्तिमरुप दिन थालेका छन् । यसरी निर्वाचनको गतिविधि तीव्र रुपमा अघि बढिरहेका बेला निर्वाचन सर्ने नेताहरुको अभिव्यक्ति र हल्ला पनि बढी नै हुन थालेको छ । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि निर्वाचन सर्ने हल्ला सुरु भएको हो । सत्ता गठबन्धन मध्येको एक दल नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन सर्न सक्ने अभिव्यक्ति दिँदै आएका छन् । खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराउन आवश्यक परे निर्वाचन सार्नुपर्ने उनले अभिव्यक्ति दिँदै आएका छन् ।

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छैन । केही दिनअघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरु निर्वाचन आयोग गएका थिए । उनीहरुले आयोग पदाधिकारीसँगको छलफलमा आफूहरुलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन आग्रह गरेका थिए । तर आयोगले प्रक्रिया धेरै अघि बढेकाले अव स्वतन्त्र उम्मेदवारी दिनुको विकल्प नभएको बताएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले आफूहरुसँग केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरी निर्वाचन गर्न माग गर्दै आएको छ । उसले निर्वाचन राष्ट्रिय राजनीतिमा मुख्य मुद्दा भएको र यस्तो गम्भीर त्रुटि गरेर सरकारले मुलुकमा झन् समस्या थप्न लागेको बताउन थालेको छ । प्रवक्ता विश्वकर्माले विद्रोह त्यागेर सहमतिमा आएको पार्टीलाई निर्वाचनमा भाग लिन नदिएर पुनः विद्रोहमा पठाउने काममा सरकार लागिपरेको भन्दै यसलाई सच्याउन माग गरेका छन् ।

निर्वाचन सर्ने हल्ला चलेपछि मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसकेकाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । उनले भने, ‘गाडी छुटेको होइन, जहाज छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिँदैन।’ उनले निर्वाचन रोकिए दुर्घटना हुनेसमेत बताएका छन् ।
निर्वाचन सर्ने हल्ला त्यतिकै पक्कै आएको होइन । विप्लवलाई प्रयोग गरेर निर्वाचन सार्न लागिएको भन्दै एमालेले पनि आपत्ति जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विप्लवलाई गठबन्धनको मतियार नबन्न सुझाव दिएका छन् । उनले विप्लवलाई सूर्य चिह्नमा चुनाव लड्न सुझाव दिएका छन् । उनले भनेका छन्,‘दर्ता खुलेका बेलामा दर्ता नगर्ने, प्रक्रियामा सामेल नहुने । विप्लवजीले चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपले लाग्नुपर्छ। होइन भने तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् । तर तपाइँलाई जनताले इमान्दार नेताका रुपमा चिन्छन् । त्यसैले चुनाव सार्ने गठबन्धनको मतियार चाहिँ नबन्नुस्।’

सत्ता गठबन्धनले केही बहाना बनाएर चुनाव सार्न सक्ने विश्लेषण पनि गरिएको छ । खासमा विप्लव नेतृत्वको नेकपालाई देखाएर, अर्को वैशाख ३० मा गर्न लागिको निर्वाचनको मिति सार्न माग गर्दै सर्वोच्चमा मुद्दा परेको छ । भदौमा अवधि सकिने जनप्रतिनिधिले वैशाखमा निर्वाचन गर्न लागिको भन्दै मुद्दा दर्ता गरेका छन् । त्यो मुद्दाको पेशी वैशाख २ गतेलाई तोकिएको छ ।

यही मुद्दाको पेशी वैशाख २ गते भएर होला सत्ता गठबन्धनले तालमेलको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप गरेको छ । कतै अदालतले निर्वाचन वैशाख ३० मा नगर भन्ने आदेश दिन्छ भनेर पनि हुनसक्छ । यसअघि चैत २६ गतेसम्म रिपोर्ट पठाउन स्थानीय निकायलाई निर्देशन दिएपनि गठबन्धनले २ पटक समय थप गरिसकेको छ । निर्वाचनको प्रक्रिया धेरै अगाडि बढिसकेको अवस्थामा विप्लवलाई प्रयोग गर्नु वा विप्लव प्रयोग हुनु पक्कै पनि राम्रो कुरा होइन । त्यसैले जनमतबाट भाग्न च्याँखे नथापेकै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *