आजबाट पोखरामा सडक महोत्सव

पोखरा। होटल संघले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी आयोजना गर्न लागेको ‘सडक महोत्सव’ बुधबारदेखि सुरु हुन लागेको हो।

पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’ भोलिदेखि पोखरामा शुरु हुन लागेको हो। महोत्सव आयोजक होटल संघ पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दैछ। रेवान पोखराले हरेक अंग्रेजी नयाँ वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ। सोही थिममा होटल संघ पोखराले पनि सडकमै खानाका परिकार पस्केर सडकमै नाच्दै, रमाइलो गर्नेगरी महोत्सव आयोजना गरेको छ ।

महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए। महोत्सव उद्घाटन अघि लेकसाइडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको र्‍याली निस्किनेछ। दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने संघका अध्यक्ष सुबेदीले जानकारी दिए। उनका अनुसार झाँकीसहितको र्‍यालीमा स्थानीय आमा समूह, क्लव, जातीय संघसंस्थादेखि स्थानीयको सहभागिता रहनेछ।

बुधबार र बिहीबार हुने महोत्सवको मुख्य आकर्षण खानाका विभिन्न परिकार, विविध सांस्कृतिक झाँकी, ख्याति प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्ट आदि रहने जनाइएको छ। लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरूले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिन सक्नेछन् ।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन्। त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *