काठमाडौं । पछिल्ला दिनमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४४७ पुगेको छ ।
सन् २०२२ को मार्चमा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन् । यसबाट अर्थतन्त्रमा सकारात्मक परिणाम हासिल हुने अर्थ मन्त्रालयको विश्वास छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ३६३ प्रतिशतले बृद्धि भएको छ । सो अवधिमा दुई लाख २६ हजार ७०० नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.८ प्रतिशतले घटेको थियो । त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १९२ प्रतिशतको उलेख्य वृद्धि भई एक लाख ७८ हजार २६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५.२ प्रतिशतले घटेको थियो ।
चालु आवको फागुनसम्म उद्योग विभागमार्फत रु ३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो । विसं २०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपालमार्फत रु ८२ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।