ब्रेकथ्रुको मिति सर्‍यो: मुआब्जाको लागि तुरुन्तै २५ करोड चाहिने

काठमाडौं । आगामी साउनभित्र नागढुङ्गा–नौबिसे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) नहुने भएको छ। नागढुङ्गा नौविसे सुरुङ मार्ग आयोजनाले आगामी साउन महिना भित्रै मुख्य र इभाक्युएसन (वैकल्पिक) सुरुङ ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो।

सुरुङ मार्ग निर्माणका क्रममा कमजोर खालको चट्टान भेटिएसँगै ब्रुेकथ्रु गर्ने समय सीमा पर घकेलिएको हो। इभाक्युएसन तर्फको सुरुङ निर्माणमा कमजोर प्रकृतिको चट्टान भेटिएकाले समय थप लाग्ने देखिएको सुरुङमार्ग आयोजना निर्देशक नरेशमान शाक्यले बताए।

‘यसअघि हामीले आगामी साउनभित्रै सुरुङमार्गको ब्रेक थ्रु गर्ने लक्ष्य राखेका थियौं, तर इभाक्युएसन सुरुङतर्फ नरम प्रकृतिको चट्टान भेटिएकाले ‘गाउन्टिङ स्टेप्लाइजिङ’ लगायतको काम गर्नुपर्दा तोकिएको समय सीमाभित्रै ब्रेक थ्रु हुन नसक्ने देखिएको छ’, उनले मङ्गलबार नागरिकसँग भने– ‘निर्माण कम्पनीले केही समयभित्रै ब्रेक थ्रु गर्ने समयसीमा निर्धारण गर्नेछ।’

आयोजना प्रमुख शाक्यले असोजदेखि कात्तिक महिनाभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने दाबी गरे। सुरुङ खन्दा जति कडा खालको चट्टान भेटिन्छ त्यति नै खन्न सहज हुने गर्छ तर कमजोर चट्टान भेटिएसँगै छुट्टै खालको संरचना तयार पारेर सुरुङ खन्ने काम गर्नुपर्दा पनि धेरै समय लाग्ने गर्छ।

आयोजना प्रमुख शाक्यले मुख्य सुरुङमार्गको भुईं अर्थात् लाइनिङको काम समेत सुरुवात गरिसकेको बताए। ‘अहिलेसम्म करिब मुख्य सुरुङको तीन सय मिटर भुइँको ढलानको काम भइरहेको छ,’ उनले भने–‘सुरुङ खन्ने र लाइनिङको कामलाई सँगसँगै अघि बढाइरहेका छौं।’

आयोजनाका अनुसार विगतमा प्रत्येक महिना तीन सय मिटर सुरुङ खन्ने गरिन्थ्यो तर गत फेब्रुअरी महिनामा ११० मिटर र मार्च महिनामा १२२ मिटर मुख्य सुरुङ खनिएको छ। नागढुङ्गा–नौबिसे सुरुङमार्ग खन्न थालेको १५ महिनाको अवधिमा हालसम्म ११ सय ७५ मिटर मुख्य सुरुङ छिचोलिएको छ।

जबकी गत फागुन २२ गतेसम्म सुरुङमार्गको मुख्य सुरुङतर्फ ९ सय ९५ मिटर अर्थात् झण्डै एक किलोमिटर मुुख्य सुरुङ खन्ने काम सकिएको थियो। नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनमा सुरुङमार्गतर्फको मात्रै भौतिक प्रगति ४८.७ प्रतिशत भएको छ।

आयोजनाले आर्थिक वर्ष २०७७र७८ को पुसको पहिलो सातादेखि सुरुङमार्ग खन्ने काम सुरु गरेको थियो। आयोजनाको मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटर सुरुङमध्ये हालसम्म ११ सय १७ मिटर सुरुङ खन्ने काम सकिएको छ। मुख्य सुरुङको काठमाडौंतर्फ ५ सय ५८ मिटर र धादिङतर्फ ५ सय ५९ मिटर सुरुङ खनिएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *