चेन्नईको लगातार चौथो हार

एजेन्सी । साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा लगातार चौथो हार बेहोरेको छ । शनिबार दिउँसो भएको खेलमा चेन्नई सनराइजर्स हैरबादसँग ८ विकेटले पराजित भएको हो ।

जीतको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैरबादले १७.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । हैरबादलाई जीत दिलाउन अभिषेक शर्माले ५० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ७५ रन जोडे । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोड्दा केन विलियम्सनले ३२ रन बनाए । उनले ४० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईको लागि मुकेश चौधरी र ड्वायन ब्राभोले एक/एक विकेट लिए ।

यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । चेन्नईको लागि मोइन अलीले सर्वाधिक ४८ रन जोडे । उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै अम्बती रायडुले २७, रविन्द्र जडेजाले २३, रुतराज गैकवाडले १६ र रोविन उथप्पाले १५ रनको योगदान गरे ।

बलिङतर्फ हैरबादको लागि वासिङटन सुन्दर र नतार्जनले दुई-दुई विकेट लिँदा भुव्नेश्वर कुमार, मार्को जान्सेन र एडम मार्क्रमले एक-एक विकेट लिए ।

यससँगै प्रतियोगितामा पहिलो जीत निकालेको हैरबाद ३ खेलबाट २ अङ्क जोड्दै आठौं स्थानमा उक्लिएको छ । समान खेल खेल्दै अङ्कविहिन रहेको चेन्नई नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *