एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार बेलुकी सम्पन्न खेलमा एभर्टनसँग १-० गोलले पराजित भएसँगै युनाइटेडको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्दै गएको हो ।
गोडिसन पार्कमा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन एन्थोनी गोर्डानले एक गोल गरे । खेलको २७ औं मिनेटमा गोर्डानले गोल गर्दै एभर्टनलाई खेलमा अगाडि बढाएका थिए । गोर्डानले डि-बक्स बाहिरबाट गरेको प्रहार युनाइटेडका कप्तान तथा डिफेन्डर ह्यारी मगायरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि थप गोल नहुँदा एभर्टन १-० गोलले विजयी भयो । जीतसँगै एभर्टन ३० खेलबाट २८ अङ्कको साथ १७ औं स्थानमा रहेको छ । पराजित युनाइटेड ३१ खेलबाट ५१ अङ्कको साथ सातौं स्थानमा छ । जुन एक खेल कम खेल्दै चौथो स्थानमा रहेको टोटेन्हामको भन्दा ३ अङ्क कम हो ।