किएभबाट रुसी सेना फिर्ता

अमेरिकी रक्षा अधिकारीहरूले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन् । पेन्टागनका एक अधिकारीले रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका बताएका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका र उनीहरूले खार्किभ पनि लिन नसकेका बताए । रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किएभ र चेर्निहिभबाट फौज फिर्ता भएका हुन् ।

पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन् । तर अहिले फिर्ता गरिएको फौज नै फर्कने वा अर्को फौज पठाउनेबारे अझै स्पष्ट नरहेको ती अधिकारीले बताए । इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम रहेको बताएको छ ।

ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन् । समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उदृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ ।

उता पूर्वी युक्रेनमा रुसी सैन्य कारबाही थप चर्किएको छ । रुस र उसका समर्थकहरूले युक्रेनका पुराना औद्योगिक नगरहरू लुहान्सकको ९० प्रतिशत र डोनेट्स्कको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *