USAID

मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ कुपिन्डे ताल

नारायणी रजौरे, दाङ । प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ । डुङ्गा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको हो । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालको अवलोकन र डुङ्गामा सयर गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

ताललाई चारैतिरबाट पहाडले घेरेको छ । त्यस स्थानबाट चाखुरे र सिस्ने हिमालको अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पानी बाहिरिने मार्ग नभएको र पानीको मुल पनि नदेखिने यस तालको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याएको छ । तालको अवलोकनका लागि भेरी र राप्ती अञ्चलका साथै देशका अन्य क्षेत्रबाट पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

ताल वरिपरीको जङ्गलमा वन्यजन्तुको अवलोकन गर्न पाइने र वनभोजका लागि पनि उपयुक्त रहेकाले पर्यटकहरू आकर्षित भएका हुनसक्ने समितिले जनाएको छ । सो ताल (दह) मा भेटिएकी तुलसीपुर उपमहानगरपालिका–६ का ४९ वर्षीया सुशीला भट्टराई निकै खुसी देखिन्थिन् ।

उनले भनिन्, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ, त्यसबाट धेरै सन्तुष्टि मिलेको छ ।” आफ्ना बहिनी र छोराछोरीसँगै केही दिनअघि पुग्नुभएकी भट्टराई चार घण्टा समय दह (ताल) क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए यसको सुन्दरता देख्दा आफू लोभिएको र स्वर्गकी अप्सरा उपनामभन्दा पनि कम नहुने रहेछ बताइन् । “यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको यति कञ्चन दहलाई स्वदेश तथा विदेशीमा प्रचारप्रसार गरी यसको महत्वलाई उजागर गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

“नेपालको प्रमुख पर्यटकीय केन्द्रका रुपमा यसलाई विकास गराउन सके यसले सल्यानका साथै आसपासका गाउँ र सिङ्गो कर्णाली प्रदेशकै मुहार फेरिने रहेछ”, उनले भने, “सल्यान जिल्लाका विभिन्न धार्मिक मठमन्दिरमा दर्शन तथा पूजा आराधना गर्नका लागि गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ । सो दह निकै सुन्दर रहेछ । देख्दा निकै लोभ लाग्यो ।”

दाङका मात्र होइन, बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेकी २१ वर्षीया अस्मिता रेग्मी पनि निकै खुसी थिइन् । उनले तालमा डुङ्गा चढेर जलविहार, तालमा फोटो खिच्न तथा टिकटक बनाउँदा निकै आनन्द आएको बताइन् । अहिले गर्मीको समयमा जङ्गल र सोही जङ्गलको बीचमा यति ठूलो नीलो सफा पानी रहेको दह ताल देख्दा यात्राको थकान सबै मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ छ ।

कुपिन्डे दहमा पुगेकी तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुङ्गानाले यो ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण संवद्र्धनका लागि सबै लाग्नुपर्ने बताइन् ।

उनले तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न, दहदेखि केही टाढा चमेना गृह, होटलहरु सञ्चालन भएमा पर्यकटलाई सुविधा हुने र पर्यटकको सङ्ख्या पनि दिनहुँ बढने हुँदा आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन् । आफूहरु सानो कार लिएर घुम्न त्यहाँ गएको ताल क्षेत्रमा जानेबाटो कच्ची तथा धुले हुँदा केही सास्ती खेपे पनि त्यहाँ पुगेपछि सबै थकान मेटिएको उनले बताइन् ।

कुपिन्डे तालमा ढुङ्गा चलाउँदै आएका ५० वर्षीय हरिशचन्द्र पुरीले सो तालको पानीले वर्षमा तीन पटक रङ्ग बदल्ने गरेको बताए । माघ–फागुन महिनामा यो तालको रङ्ग परिवर्तन भएर खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनको भनाइ छ ।

विशेष गरेर गर्मी महिनामा तालको अवलोकन गर्नका लागि टाढाटाढाबाट पर्यटक आउने गरेका र सो समयमा डुङ्गा चढेर तालको अवलोकन गर्नेहरुको सङ्ख्या बढ्ने गरेको पुरीले बताए । उनले भने, ‘पुरै ताल डुङ्गा चढेर अवलोकन गरेबापत २०० रुपैयाँ शुल्क लिने गरेका छौँ र मासिक रुपमा कम्तीमा २० हजार आम्दानी गर्ने गरेको छुँ ।’

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको अस्तित्व चर्चा आएको बताए । उनका अनुसार विशेषगरी गर्मीयाममा टाढाटाढाबाट पर्यटकहरु अवलोकनका लागि आउने गरेको र चैत महिनाको दोस्रो हप्तामा १५ हजारले तालको अवलोकन गरेको बताए ।

तालको आफ्नै विशेषता छ । वरिपरि घनाजङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो । यस तालमा गर्मीको समयमा धेरै पर्यटक अवलोकन गर्न आउने गरेको ताल संरक्षण समितिले जनाएको छ ।

दैनिक ४०० को हारहारीमा पर्यकट यहाँ आउने गरेका छन् । तल नजिकै बराहदेवको मन्दिर पनि छ । सो मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नाले आफूले चिताएको कुरा प्राप्त हुने धार्मिक विश्वास छ ।

तल क्षेत्रमा आवश्यक पूर्वाधार नभएकाले प्रवेश शुल्क नतोकिएको भए तापनि डुङ्गा चढेको भने शुल्क लिने गरिएको छ । कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २०० मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेकोे बताइएको छ । तालले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा यकिन जानकारी नभएको बताइएको छ ।

तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए । यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

तालमा स्वदेशी तथा विदेशी पर्यकटलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे ताल संरक्षण समितिका पदाधिकारी बताउँछन् । त्यसका लागि ताल क्षेत्रमा पुग्ने माटो कालोपत्र हुनुपर्ने, त्यहाँ पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र ताल क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्ने आवश्यक देखिन्छ । सल्यान जिल्लाको सदरमुकाम खलङ्गाबाट तीस किलोमिटर दक्षिणमा पर्ने सो ताल जङ्गलको बीचमा रहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.