त्रिभुवन विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ कार्यक्रम सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ ।

प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मङ्गलबारदेखि प्रशिक्षण थालिएको हो ।

समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने उनको बुझाइ छ । कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रुखो हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *