भैरहवा सेजमा सात अर्ब लगानी प्रस्ताव

काठमाडौं । मुलुकमा स्वदेशी उत्पादन वृद्धि हुन नसक्दा व्यापार घाटा बढिरहेको छ। व्यापार घाटा कम गर्न सरकारले निर्यातमूलक उद्योगलाई प्रोत्साहित गर्ने नीति लिएको छ। कसिलो नीतिको कारण विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न हच्किएका लगानीकर्ता सरकारले खुकुलो नीति ल्याउने तयारी गरेपछि आकर्षित भएका छन्।

भैरहवास्थित सेजमा उद्योगीले करिब सात अर्ब रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ५५ प्लटका लागि उद्योगीले करिब सात अर्ब रूपैयाँको लगानी प्रस्ताव गरेको सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। ‘पुरानो व्यवस्था परिमार्जन गरेर थप सुविधा दिने तयारी गरेका छौं’, भट्टले भने, ‘निर्यातको अवधि र भाडा छुटका लागि गृहकार्य भैरहेको छ।’ उद्योगीलाई सुविधा दिने तयारीसहित सेजले नयाँ प्रस्ताव आह्वान गरेको थियो।

सेजमा बी एन्ड पी म्यानुफ्याक्चरिङले एक अर्ब २५ करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव पेस गरेको छ। नयाँ लगानी गर्न चाहने उद्योगमा विद्युतीय स्कुटर तथा मोटरसाइकल एसेम्बल गर्ने उद्योग, एग्रो प्रोसेसिङ, हर्बल प्रोसेसिङ, इन्डक्सन चुलो, सिमेन्ट, स्टिल, ग्लास, कप, प्लेट, भाँडाकुँडा, ढुङ्गाका मूर्ति बनाउने लगायतका उद्योग छन्।

सेजले लगानीकर्तालाई आकर्षित गर्न कसिलो व्यवस्थालाई हटाउँदै सुविधाको प्याकेज ल्याउन लागेको हो। उत्पादन वृद्धि गरेर निर्यात बढाउन सरकारले सेजको अवधारणा ल्याएको थियो। सेजले दुई वर्षसम्म निकासी गर्नुनपर्ने र जग्गाको भाडा घटाउने बारेमा छलफल गरिरहेको छ।
नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *