दीपेन्द्रको टि-२० आईमा पहिलो सतक

काठमाडौं । युवा ब्याट्सम्यान दीपेन्द्र सिंह एरीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा टि-२० आईमा कीर्तिमानी सतक पूरा गरेका छन् । शनिबार दिउँसो कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्र सिंह एरीले करियारकै पहिलो टि-२० आई सतक पूरा गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन दीपेन्द्र सिंह एरीले ५५ बलमा १० चौका र ६ छक्काको मद्दतमा १ सय १० रन बनाए । टि-२० आईमा ३८ खेल खेलेका दीपेन्द्रको यो पहिलो सतक हो ।

यससँगै दीपेन्द्र नेपालबाट टि-२० आईमा सतक बनाउने चौथो खेलाडी बनेका छन् । यसअघि नेपालबाट पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले सतक प्रहार गरेका थिए । यस्तै दीपेन्द्र टि-२० आईको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ज्ञानेन्द्र मल्लले कीर्तिपुरमै भुटानविरुद्ध बनाएको १ सय ७ रनको कीर्तिमान तोडेका हुन् ।

यस्तै दीपेन्द्र दुवै टि-२० आई र एकदिवसीय क्रिकेटमा सतक हान्ने दोस्रो खेलाडीपनि बनेका छन् । यसअघि पारस खड्काले दुवै टि-२० र एकदिवसीय क्रिकेटमा सतक प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *