काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज हुने समूहचरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । नेपाल बिहीबार भएको आफ्नो ५० औं टि-२० आई अन्तराष्ट्रियमा पीएनजीलाई ३७ रनले पराजित सिरिजमा लागातार तेस्रो जीत निकालेको थियो । उक्त खेलमा नेपाली तीब्र गतिका बलर कारण केसीले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । यसअघिनै फाइनल पुगिसकेको नेपाल आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।
यता मलेसियापनि आजको खेलमा जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । मलेसियालाई फाइनल प्रवेश गर्न जीत आवश्यक रहेको छ । तर सिरिजमा अपराजित घरेलु टोलीलाई हराउन मलेसियालाई सहज हुनेछैन । हाल मलेसिया ३ खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारमा छ । एक खेल बढि खेल्दै समान अंक जोडेको पीएनजी नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । तीनै खेलमा जीत निकालेको नेपाल ६ अंकको साथ शिर्ष स्थानमा रहेको छ ।
अंकतालिकाको शिर्ष दुई स्थानमा रहने टोली सोमबार हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन् ।