सबै जिल्लामा सुकुमवासी आयोगः पदाधिकारीको नाम गोप्य

काठमाडौं । चुनावको संघारमा सरकारले ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समिति गठन गरेको छ। निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो।

भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले ७७ जिल्लामा आयोग गठन गरिएको बताइन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त जिल्ला पदाधिकारीलाई सपथ खुवाउने कार्यक्रम तय गरिएको छ।

आयोगका उपाध्यक्ष नहिन्द्र खड्काले बिहीबार सपथ खुवाउने तयारी भएको बताए। ‘मन्त्रिपरिषद्बाट पास भइसकेको छ। भोलि नै ९बिहीबार० सपथ खुवाउने तयारी हो’, उनले भने। सरकारमा सहभागी भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाले भागबण्डा गरी जिल्लामा आयोग गठन गरेका हुन्। सरकारले यसअघि २८ जिल्लामा आयोग गठन गरेको थियो।

यसपटक बाँकी ४९ जिल्लामा आयोग गठन गरिएको छ। सरकारले नियुक्त गरेका जिल्ला आयोगका पदाधिकारीको नाम गोप्य राखिएको छ। एकै पटक सपथ ग्रहण कार्यक्रममा मात्र नाम सार्वजनिक गर्ने मन्त्रालयको तायरी छ। ‘जजसलाई नियुक्त गरिएको छ, उहाँहरूलाई सपथ ग्रहण कार्यक्रममा बोलाइएको छ। त्यही बेला मात्र नाम सार्वजनिक हुनेछ’, आयोग स्रोतले बतायो। नवनियुक्त पदाधिकारीको नाम पहिले नै सार्वजनिक गरेमा थपघट गर्न तथा सूचीमा परिमार्जन गर्न दबाब आउने सम्भावना भएपछि गोप्य राखिएको मन्त्रालय स्रोतले बतायो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *